छविलाल रिहासँगै गंगामायाले अस्पतालमा फेरि सुरु गरिन् अनशन
काठमाडौँ : छोरा कृष्णप्रसादको हत्याका सबै अभियुक्तलाई चितवन जिल्ला अदालतले सफाई दिएको खबर पाएलगत्तै गंगामाया अधिकारीले अस्पतालबाटै अनशन सुरु गरेकी छन्। उपचारार्थ रहेकी गंगामायाले आइतबार साँझदेखि बीर अस्पतालकै शैयाबाट अनशन सुरु गरेको बताएकी छन् ।
गंगामायाको अनशनका कारण संकटमा पुगेको सरकारलाई उद्धार गर्न खासगरी पूर्वमाओवादी नेतृत्वको सुझावमा कृष्णप्रसादका हत्याका अभियुक्त छविलाल पौडेलले आत्मसर्पण गरेपछि उनले ४७ औं दिनमा अनशन तोडेकी थिइन्। तर डिल्लीबजारस्थित कारागारमा रहेका छविलाल लगायत १२ जनालाई चितवन जिल्ला अदलातले सफाई दिएपछि आफ्नो छोराको हत्यामा न्याय पाउने उनको अभियानमा एउटा ठूलो धक्का पुगेको हो।
‘अपराधीले मलाई न्याय दिएनन्, म न्यायका लागि मर्न तयार छु र सके भने यो मुद्धालाई अन्तर्राष्ट्रिय अदालत पुर्याउने पनि प्रयास गरिरहन्छु’, गंगामायाले भनिन्। चितवन जिल्ला अदालतको फैसलाले उनको मनोवल गिरेको स्पष्ट बुझ्न सकिन्थ्यो । योसँगै उनको यसपल्टको आक्रोश अदालत, राज्य र केही मानवअधिकारवादी नेताविरुद्ध पनि लक्षित छ।
उता गंगामायाले अन्य केही पीडितसँग आफ्नो बिलौना र बिडम्बना सुनाएको बुझिएको छ। ‘मलाई हिजो हेगमा मुद्दा पु र्याउन तपाईलाई मद्दत गर्छु भन्ने मानवअधिकारवादी नेताहरु सत्तामा छन् र उनीहरु मलाई अव साथ दिनुहुन्न भन्न थालेका छन्’, गंगामायालाई उद्धित गर्दै एक अर्का माओवादी पीडितले भने ।
न्यायको माग सहित गंगामायासँगै अनशन बसेका उनका पति नन्द प्रसादले अनशनको तीन सय ३१ औं दिनमा प्राण त्याग गरेका थिए। त्यसपछि एक्लै लड्दै आएकी गंगामायाले न्याय नपाउने देखेपछि फेरि अनशन थालेकी थिइन्।