Logo
२ मंसिर २०८१, आईतबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुल नबन्दा सास्ती : नोपली जनतालाई भारतीय सडक-पुल र डुंगाको भर 

रौतहटको दुई ठूला नदी बागमती र बकैयाको विभिन्न ठाउँको पुल निर्माण कार्य सम्पन्न नहुदा जिल्लावासीले सास्ती भोगीरहेका छन् । मूख्य गरी बकैयामा एक र बागमती नदीको एकै चोटि चार वटा पुल निर्माधिन अवस्थामा रहेको छ । पुलहरुको निर्माण कार्य समयमा नहुँदा रौतहट र सर्लाहीका जनता डुंगा कै भरमा नदी तर्दै जोखमिपूर्ण यात्रा गरी एक जिल्लाबाट अर्को जिल्लामा आवतजात गर्न बिबस छन् ।

मोटरसाइकल, साइकल, डुंगा राखेर यात्रा गरिएपनि चार पांग्रे सवारी साधन घुमाउरो बाटोबाट एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गराउन घण्टौं लाग्ने अवस्था छ । रौतहटको सदरमुकाम गौरको टिकुलिया घाट स्थितको बकैया नदीको पुल, दुर्गा भगवती गाउँपालिकाको बडहर्वा र पिप्रा घाटको पुल, गढिमाई नगरपालिकाको सिंगारमन र समनपुर घाटको पुल गरी जम्मा ५ वटा पुल निर्माणधिन छन् ।

गौर नगरपालिकाको टिकुलिया घाटको पुल निर्माणको लागि २०७१ साल अषाढ २६ गत पप्पु कन्स्ट्रक्शनले सम्झौता गरेको थियो । २४२ मिटर लामो र ७ वटा स्परले बनेको सो पुल २०७४ अषाढ २५ गते सम्म तयारी हुनुपर्ने थियो तर हालसम्म पिलर मात्र तयार गरिएको छ ।
१४ करोड १३ लाख २७ हजार १ सय ५० मा निर्माणको ठेक्का लिएका पप्पुलाई सम्झौता अनुसार काम किन नगरेको भन्दै सम्बन्धित निकायले पत्रचार गरेपनि ठेक्केदार कानमा तेल हाली सुतेको अवस्था छ ।

जसबाट रौतहटको गौर नगरपालिकाबाट क्षेत्र नं. २ मा पर्ने बन्जरहा, बलुवा, औरैया, बैरिया सहित बारा पर्सा जिल्ला पुग्न दैनिक ओहोर दोहोर गर्ने हजारौं जनताको यात्रा नै कष्टदर र जोखिमपूर्ण छ । अर्कोतिर दुर्गा भगवती गाउँपालिकाको बडहर्वा घाटको पुल समयमै नबन्दा सर्लाही र रौतहटको जनताको दुरी बागमतीले बढाएको छ । २०६७ साल जेठ ३१ मा निर्माण सम्झौता भएर २०७० साल जेठ ३० सम्म बनाइसक्नुपर्ने बडहर्वाका पुल अझै अधुरै छ ।

बागमतीले धार परिवर्तन गरेको बहाना गर्दै हुलाकी सडक योजनाले बन्द गरेको पुलको काम शुरु हुन सकेको छैन् । पुल नबन्दा सर्लाही रौतहटका दुई दर्जन गाउँका जनताहरु दुख कष्ट झेलिरहेका छन् । कतिपय डुंगाको सहाराले आवतजावत तथा खेतबारीमा जान निरिह छन् भने कति त रौतहटबाट सर्लाही जान भारतको बाटोको प्रयोग गर्न बाध्य छन् ।

पुल निर्माण रोकिएको वर्षौ बितिसक्दा पनि कम्पनीले काम सुचारु नगर्दा जनता आक्रोशित छन् । ठेकेदारले अबको केहि दिन मै पुनः काम शुरु हुन्छ काम भनेको ६ महिना बितिसक्दा पनि काम शुरु नगराएको गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए । फोन गर्दा यो महिनामा काम शुरु हुन्छ, त्यो महिनामा काम शुरु हुन्छ भन्दै आलटाल गर्दै ठेकेदारले आफुहरुलाई वर्षै देखि समय दिइरहेको तर काम शुरु नगराएको भन्दै अब चुप लागेर नबस्ने समाजसेवी मुकेश साहले आक्रोश ब्यक्त गरे ।

बडहर्वा घाट भन्दा ५ किलोमिटर उत्तर पिपरा बजार नजिक पनि बागमती मै पुल बन्न थालेको छ तर पुल निर्माणको गति सुस्त रहेको स्थानीय वडा अध्यक्ष डिके झा बताउँछन् । झाको अनुसार नदीमा पानीको बहाव बढेपछि हाल काम रोकिएको छ । पुलको गुणस्तरको सन्दर्भमा कुरा गर्दै झाले पुलको काम गुणस्तरहिन भइरहेको तर सम्बन्धितनिकाय कुनै चासो नदिएकोले आफुहरु दुखित भएको बताएका छन् ।

यसै गरी पिपरा बजार भन्दा करिब ८ किलोमिटर उत्तर गढीमाई नगरपालिका वडा नं. ७ सिंगारमन घाटमा निर्माणधिन पुलको काम पनि सुस्त देखिएको छ । समयमै पुल सक्न आफुले निरन्तर दबाब दिदा पनि ठेकेदारले कुनै वास्ता नगरेको नगरप्रमुख श्याम यादव बताउँछन् । सोहि नगरपालिकाको समनपुर घाट स्थित निर्माण भइरहेको पुल पनि अधुरै छ । सम्झौता अनुसार पुल बनाएर सक्नुपर्ने म्याद चैतमै सकिएको हो ।तर पुनः म्याद थपेर २०७५ फागुन सम्म पुर्याइएको निर्माण कम्पनीको सुपरभाइजर हरि उपाध्यायले बताए ।

ती सबै पुल निर्माण कम्पनीको बदमासि र सरकारी पक्षको ढिलासुस्ती, निगरानी र खोजबिन नहुनुबाटै अलपत्रमा परेको नेकपाको युवा नेता शम्भु शाह बताउँछन् ।

नोपली जनतालाई भारतीय सडक, पुल र डुंगाको भर
रौतहटबाट पश्चिमी क्षेत्रमा खेतमा काम गर्न वा बारा, पर्सा जाने जनतालाई बकैया नदीको कटहरिया, फतुहा महेशपुर घाटमा बनेको पुलको भर छ । अन्य घाटमा डुंगाबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । टिकुलिया, बन्जरहा, बैरिया, इनरवारी सहित रौतहटको दर्जनौं घाटमा डुंगा मात्रै चल्छ । ती सबै घाटबाट दैनिकौ हजारौं यात्रु आवतजावत गर्न डुंगाकै सहारा लिने गरेका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कर्मैया स्थित बागमती नदीमा एउटा मात्र पुल छ । कर्मैयाको पुल देखि भारतको सिमानासम्म करिब ४० किलोमिटर लामो बागमती नदीमा अन्त कतै पुल नहुँदा रौतहट सर्लाही दुबै जिल्लाका जनताहरुलाई सास्ती नै सास्ती छ । दुबै जिल्लाका हजारौं वासिहरु सवारी मार्फत यात्रा गर्दा भारत पुगेर नदी वारपार गर्न बाध्य छन् । भारतको बैरगनिया स्थित बागमती नदीमा पुल भएकोले नेपालका नागरिकलाई जम्मा ३ किलोमिटर बाटोको लागि ४० किलोमिटर टाढा पुग्न बाध्यता छ । पुल समयमै नबन्दा जनताको समय र पैसा दुबै हानी नोक्सानी भइरहेको अवस्था छ ।

बकैया र बागमती नदीमा पटक-पटक डुंगा दुर्घटना
२०६९ साल भदौ १० गते सर्लाहीको मानपुरबाट रौतहटको गम्हरिया पर्साको लक्ष्मीपुर आउँदै गरेको डुंगा दुर्घटना भएको थियो । डुंगा बागमतीमा डुब्दा स्थानीय रजिया खातुन, निसाद खातुन, अफसरा खातुन र प्रतिमा कुमारी पटेलको ज्यान गएको थियो । उक्त दुर्घटनामा बेपत्ता भएको ५ जनाको अहिलेसम्म अतोपतो छैन ।

बागमती नदी मै २०७१ साल भदौ ६ गते सर्लाहीको बैरियाबाट पिपरा रजवाडा तर्फ आउने क्रममा डुंगामा सवार ६० जना नदीमा डुबेका थिए । ती मध्ये ५८ जनालाई प्रशासन र स्थानीयहरु सहयोगले उद्धार गरिएता पनि सुखली देवी पण्डित र चिकनी देवी दासको ज्यान गएको थियो । गौर नगरपालिकाको लाल बकैया स्थित टिकुलिया घाटमा टिकुलिया तर्फ आउँदै गरेको डुंगा २०६२ सालमा दुर्घटना हुँदा स्थानीय १३ जनाको ज्यान गएको थियो भने दर्जनौं घाईते भएका थिए ।

दुर्घटना पश्चात पुल निर्माणको काम शुरु भएको थियो । काम लिएको पप्पु कन्स्ट्रक्शनले काम समयमै नसक्दा बितेको भाद्र ९ गते दुर्घटना समेत भएको थियो । जसमा स्थानीय रुना पटेल, उष्मा पटेल, कान्ती देवी, शान्ति देवी, ओमप्रकाश चनौ र इन्दु देवी सहित ६ जनाले ज्यान गुमाउनुको साथै २ दर्जन डुंगा सवार यात्रुहरु घाईते भएका थिए । निर्माणधिन पुलको पिलरमा ठोकिएर सो डुंगा दुर्घटना भएको थियो ।

यसरी स्थानीयवासिन्दाहरुले जोखिमपूर्ण तथा कष्टदायी डुंगा यात्रा गर्दा पनि राज्यले व्यवस्था गरेको भन्दै रौतहट र सर्लाही वासि आक्रोशित छन् । छिट्टै पुल निर्माणको काम सकाउन सरकारले महत्वपूर्ण भुमिका खेलि जनताको जिउ धनको रक्षा गर्न सरकारसँग स्थानीयवासिको माँग छ । प्रमुख जिल्ला अधिकारीले गोबिन्द रिजालले आफूले लापरवाह ठेकेदारलाई कारवाहीको लागि गृह मन्त्रालयलाई पत्रचार गरेको बताएका छन् । प्रमख रिजालले आफूले सडक डिभिजन कार्यालयलाई पनि काम सुचारु गर्न पत्रचार गरेको स्पष्ट पारे ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्