Logo
५ मंसिर २०८१, बुधबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उनीविरुद्ध त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भने नगरेको उजुरी परेको थियो । उनले त्रिविको मुद्दा अझै पेशीमै रहेको प्रष्टिकरण दिएका छन् । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

समितिका सदस्य सुरेन्द्र पाण्डेले बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिए । नाम अनुमोदन भएसँगै मिश्र राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त हुनेछन् । आजै समितिको बैठकमा उपस्थित भएर मिश्रले आफूविरुद्ध परेका तीन उजुरीबारे जवाफ दिएका थिए । बैठकमा समितिका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ माग गरेका थिए ।

त्यस्तै काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति नदिलाएको भन्ने उजुरी समेत परेको थियो । त्यसैगरी तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्याायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला गरीएको बारे थियो ।

मिश्रले उजुरीको जवाफ दिने क्रममा आफूले अहिलेसम्म १७ हजार मुद्दा फैसला गरेको बताएका छन् । ‘१७ हजार मुद्दा फछ्र्योट गरेको छु, ति फैसलाका क्रममा कुनै लज्जित हुने काम गरेको छैन । बढी समय म काठमाडौँमा बसेको छु,’ मिश्रले जवाफ दिने क्रममा भने, ‘विराटनगर मुद्दाका बारेमा कुनै सम्झना छैन । ०५५/५६ सालमा म त्यहाँ बसेको थिएँ तर मलाई अरु सम्झना छैन । जहासम्म लाग्छ न्यायबमोजिम काम गरेको छु होला ।’

त्यस्तै काठमाडौँमा बैदेशिक रोजगारी सम्बन्धी परेको उजुरीको जवाफ दिँदै मिश्रले २०६१ बैशाख २ गतेको उक्त फैसला अरु नै न्यायाधीशले गरेको बताएका छन् । सो मुद्दामा १० लाख ५ हजार पीडितले पाउने फैसला अर्कैले गरेको तर आफुले सदर गरेको बताएका छन् ।

उनले न्याय सम्पादनका काम प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि जनाएका छन् । ‘सबै मुद्दालाई एकैसाथ हेर्न सकिँदैन । थुनुवा मुद्दालाई बढी प्राथमिकता दिने गरिएको छ । आफ्नो कार्यकालमा न्यायसम्पादन प्रभावकारी बनाउन कुनै कसर बाँकी राख्दिनँ,’ मिश्रले भने ।

संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो । वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्