बाढीले बगाएका व्यक्तिको यसरी भयाे जीवितै उद्धार
माेरङ : झापाको दमक नगरपालिका ४ का ५५ वर्षीय नुनुलाल पण्डित आइतबार दिउँसो मोरङ र झापाको सीमानामा पर्ने मावा खोला किनारमा गाई, बाख्रा चराउँदै थिए । साँझ परेपछि उनी गाई बाख्रा लिएर घर जाने तयारीमा थिए । त्यत्तिकैमा एक्कासि मावा खोलामा उत्तरतिरबाट बाढी उर्लिएर आयो । उनले त्यो बाढी छिचोल्नै सकेनन् । अन्तत उनलाई बाढीले बगायो । बाढीले बगाएर केही तल पु¥याएपछि खोलाको बीचमा रहेको पुलको पिलरमा अडिने प्रयास पनि गरे । तर केही बेरमै बाढीले त्यहाँबाट पनि उनलाई बगाउन थाल्यो ।
बाढीले मानिस बगाएको खवर सुन्न साथ तत्काल घटनास्थलमा पुगेको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली पुग्यो । टोलीमा रहेका प्रहरी पौडिएर खोलामा पसे । पौडिएर खोलामा पसेका प्रहरीले बाढीले बगाएर तीन सय मिटर तल पु¥याएपछि पण्डितको सकुसल उद्धार गर्न सके । घटना स्थलमा सशस्त्र प्रहरीका निरीक्षक रामसिंह भण्डारी र नेपाल प्रहरीका नायव निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा टोली खटिएको थियो ।
खोलाले बगाएका व्यक्तिलाई जीवितै उद्धार गरेको श्रेय उनै भण्डारी र पराजुली नेत्रृत्वको प्रहरी टोलीलाई गएको छ । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बाढीले बगाएर लगभग तीन सय मिटर तल पु¥याएपछि पण्डितलाई जीवितै उद्धार गर्न सकिएको हो । ‘उद्धार टोली केही ढिलो भएको भए के हुने थियो भनेर यसै भन्न सक्ने अवस्था थिएन,’ तिमल्सिनाले भने, ‘बाढीले बगाएको थाहा पाएर तत्काल टोली घटनास्थलमा पुग्न सकेका कारण जीवितै उद्धार गर्न सकियो ।’ उनले घटनास्थलमा गएपछि पौडिएर खोलामा पसेका प्रहरीले उनलाई बाहिर निकालेको जानकारी दिए ।
पण्डितसंगै उनले चराउँदै गरेका दुईवटा गाई र तीनवटा बाख्रालाई पनि खोलाले बगाएको थियो । बगाउँदै अलि तल पु¥याएपछि गाई र बाख्रा भने खोलाको बीचमा रहेको पुलको पिलरमा अडिएर बस्न सकेका थिए । पण्डितलाई उद्धार गरिसकेपछि प्रहरीको संयुक्त टोलीले गाई र बाख्रालाई पनि जीवितै खोलाबाट बाहिर निकालेको थियो । डोरीले बाँधेर तान्दै गाई र बाख्रालाई भने बाहिर निकालिएको प्रनि तिमल्सिनाले जानकारी दिए ।
गाई, बाख्रा लिएर घरतर्फ फर्कने तयारी गर्दै गर्दा खोलामा एक्कासि आएको बाढीले बगाएको पण्डितले बताए । उद्धारपछि उनले भने, ‘भाग्न खोज्दा खोज्दै बाढीले बगाईहाल्यो । प्रहरी नआइपुगेको भए मर्ने रहेछु ।’ उनले उद्धार गरेर आफूलाई बचाएकोमा खुसी व्यक्त गर्दै प्रहरी टोलीलाई धन्यवाद पनि दिए ।