किर्ते कागज खडा गरी ७० करोड ठगी गर्ने १२ जना पक्राउ
काठमाडौ : किर्ते कागज खडा गरी कम्पनी कैै स्वामित्व हत्याई उक्त कम्पनीको चल अचल सम्पति बिक्री गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी मुद्धा दायर गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जीतबहादुरले जटियाको घरबाट कम्पनीको स्वमित्व सम्बन्धी कागजात चोरी गरी किर्ते गर्दै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनीको स्वामित्व नै आफ्नो नाममा लिइसकेको पाइएको छ।
काठमाडौं चुनदेबीमा बस्दै आएका भारतीय नागरिक राम निरंजन जटियाको शंकर इलेक्ट्रोनिक इण्डष्ट्रिजको स्वामित्व जटियाकै घरमा काम गर्ने जीत बहादुर मगरले आफ्नो नाममा लिइसकेको पाइएको छ।
कम्पनी हत्याएका जितबहादुरले आफू कम्पनीको अध्यक्ष भन्दै विभिन्न स्थानमा रहेका कम्पनीको नामका जग्गा विक्री गर्ने प्रक्रिया पनि थालिसकेका थिए। कतिपय जग्गाको बैना कागजसमेत गरेको पाइएको छ।
उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको नाममा रहेको राजधानीको बालुवाटारस्थित कित्ता नं. ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं.९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा रहेको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडेको प्रहरीले जनाएको छ।