Logo
३ माघ २०८१, बिहीबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्री ३/श्री ५ महाराजले चलाएका चलन अनुसार प्रधानसेनापति झुक्नुपर्छ भन्ने छैन : भीम रावल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् । बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३ र श्री ५ ले चलाएका कतिपय चलन गणतन्त्रमा आवश्यक नरहेको बताए ।

‘२८ गते प्रधानसेनापती भारत जाने कुरा आएको छ । प्रधानसेनापति लगत्तै किन भारत जानुपर्छ भन्ने सन्दर्भमा प्रधानमन्त्री पहिलेदेखिकै चलन हो, उताबाट पनि आउने यताबाट पनि जाने र मानार्थ दिने भन्ने जवाफ दिन्छन्’ सांसद रावलले भने, यसलाई हटाउन सकिँदैन ?’ सरकारले पूर्णचन्द्र थापालाई भदौ २४ बाट लागू हुने गरी सेनापति नियुक्त गर्न सिफारिस गरेको छ । लगतै प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदैछन् ।

नेकपाका सांसद रावलले प्रधानसेनापति भए लगत्तै भारत जाने चलन गलत भएको बताए । यसको इतिहास उचित र सार्वभौम राष्ट्र अनुकुल नभएको उनले बताए । ‘यो श्री ३ वीरशम्शेरको पालामा तत्कालीन बेलायती साम्राज्यले नेपालका सनेापतिलाई लेफि्टनेन्ट जर्नल (त्यतिबेला मानार्थ होइन) दिन थालेका हुन् । हामीले जब सन् १८१५ को युद्ध हार्‍यौं ३ हजार नेपालीलाई युद्ध बन्दी बनाइयो । युद्धबन्दीहरुलाई लिएर बेलायतले प्रयोग गर्ने रणनीति बनायो र भर्ती खोलेको भन्यो’ रावलले इतिहास सुनाए, ‘त्यो कुनै हाम्रो वीरताको र इज्जतको विषय थिएन ।’

जुद्ध शम्शेरको पालादेखि नेपालका प्रधानसेनापतीलाई भारतमा मानार्थ महारथी दिन थालिएको भन्दै रावलले बि.स. २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा वेलायतले यसलाई निरन्तर जारी गर्ने निर्णय गरेको इतिहास रहेको बताए । २०१७ सालपछि राजा महेन्द्र आएपछि रोकिएको यो चलन बहुदलमा प्रधानसेनापति भएका सचितशम्शेर राणालाई भारतको भूमि भएर श्रीलंका जान दिइएन । तर, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि फेरि नेपाल र भारतको सेनापतिलाई एकअर्काको मानार्थ महारथी मान्ने चलन सुरु भएको उनले बताए ।

प्रधानसेनापति भएलगत्तै भारत जाने र मानार्थ लिने लगातारको चलन भएको र यो गौरवका लागि भएको भन्ने प्रधानमन्त्रीको जवाफ तथ्यसंगत नभएको उनले जिकिर गरे । गणतन्त्रमा साम्राज्यवादी चलनमाथि गर्व गर्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘यो त हाम्रो देश कमजोर भएको कारण यस्तो चलन जारी भएको हो’ उनी भन्छन्, ‘अहिले पनि हामी कमजोर भएका कारण यसलाई बन्द गर्न नसकेका हौं ।’ ‘हामीले गणतन्त्र ल्याइसक्यौं ।

कुनै श्री ३ महाराज र श्री ५ महाराजल चलाएका चलन अनुसार झुक्नुपर्छ भन्ने छैन । फाल्नुपर्छ’ सांसद रावलले भने, ‘हामी नेपालीहरु आत्मसम्मानका साथ बाँच्न पाउने परिवेशमा प्रवेश गरिसकेका छौं । हाम्रो देश पनि यो परिवेशमा प्रवेश गर्न सक्नुपर्छ । लोकतान्त्रिककरण भनेको यहि हो ।’

जवाफमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेक सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने विषय समावेश नभएको बताएका छन् ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्