Logo
३ माघ २०८१, बिहीबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उनले सरकार स्वइच्छाचारी ढंगले चलेको, लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गरेको आरोप लगाए । बर्दियामा प्रहरीले नियन्त्रणमा लिइएका राममनोहर यादवको मृत्युले सरकारको स्वच्छाचारीता देखिएको बताए ।

बुधबार संसदको विशेष समयमा समसायिक विषयमा धारणा राख्दै सरकारले संविधानअनुसार नचलेको भन्दै सिंहले राजीनामा मागेका हुन् । सिंहले विदेश जान लागेका लेलिन बिष्टलाई रोकेर अर्को कानुनविपरीत काम गरेको आरोप लगाए । उनले प्रतिनिधिसभाको विशेष समयमा भने, ‘व्यक्ति व्यक्तिले सरकारसँग स्वीकृति लिन सकिन्छ ? पासपोर्टमा लेखेको पढ्न नजान्ने पनि कर्मचारी हुन्छ ?’

त्यस्तै राजपाका सांसद लक्ष्मणलाल कर्णले पनि राममनोहर यादवको मृत्युबारे संसदीय छानबिन हुनुपर्ने माग गरे । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गुलरियामा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका यादवको भदौ १६ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

कर्णले संसदमा प्रश्न गरे, ‘कालो झण्डा देखाउने भन्दा अरु कुनै विरोधको उपाय छ ? यो सरकारले गरेको हत्या हो । त्यो विषयमा गृहमन्त्रीेले जवाफ दिनुपर्दैन ?’ सरकारले संसदको शून्य र विशेष समयमा उठेका गम्भीर विषयलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए । उनले सरकारको काम कारबाही सन्तोष जनक नभएको दाबी गरे ।

कांग्रेसका अर्का सांसद भरत शाहले पनि राममनोर यादवको मृत्यबारे निष्पक्ष छानबिन गर्न माग गरे । ‘घटनाको विषयमा छानबिन गर्नुपर्छ । दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिइयोस्, शाहले विशेष समयमा भने ।

सांसदहरुले तराई उखु किसानको वक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । उखुलाई नगदे बाली भने पनि उधारो बाली जस्तो भएको उल्लेख गर्दै किसानको बक्यौता भुक्तानी दिलाउन सरकारलाई सक्रिय हुन आग्रह गरे ।

सांसदहरु लक्ष्मणलाल कर्ण, भरत शाह, अमरेशकुमार सिंहलगायतले उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह गरे । नेपाली चिनीको हुँदाहुँदै विदेशी चिनी आयात भइरेको तर्फ पनि सांसदहरुले आपत्ति जनाए ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्