त्रिवेणी पुल दुई वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री महासेठ
विराटनगर : मोरङको दुई गाउँपालिका जोड्ने पुल निर्माण कार्य सुरू भएको १७ वर्षसम्ममा पनि सम्पन्न हुन सकेको छैन। मोरङको ग्रामीण क्षेत्र ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकाबीचमा पर्ने सिङ्गीया खोलामा पर्ने त्रिवेणी पुल २०५८ सालमा निर्माण सुरू गरिएको थियो।
ग्रामथान गाउँपालिकाको तेतरीया–५ बाट बुढीगङ्गा हुँदै सुनसरीको दुहवी जोडिने उक्त महत्त्वपूर्ण बाटोमा पुल नबन्दा स्थानीय बासिन्दा झण्डै १५ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्। विराटनगरका निर्माण व्यवसायी सुरेश खरेलले लिएको पुल निर्माणको ठेक्काअनुसार काम सम्पन्न गर्न स्थानीयले पटकरपटक दबाब दिए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
तत्कालीन समयमा रु एक करोड २० लाखमा ठेक्का सम्झौता गरी पुल निर्माणको काम सुरू भए पनि ठेकेदारले बीचमै काम छाडेर हिँडेका छन्। पुल निर्माणका लागि ल्याएको सामग्री लुटपाट र चोरी भएकाले ठेकेदारले पुल निर्माणको काम सम्पन्न गर्न नसकेको बताइएको छ। ठेकेदार कम्पनीले विसं २०६०र६१ सालमा पुलको तीन वटा पिलर बनाएर प्रारम्भिक काम अघि बढाएको र अहिले पनि त्यसलाई प्रयोग गर्नसक्ने अवस्था कायम रहेको छ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सोमबार पुलको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै यही आर्थिक वर्षमा पुरानो ठेक्का रद्द गरेर नयाँ बोलपत्र आह्वान गर्ने र आगामी दुई वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गरी पुलबाट आवातजावतको सुविधा स्थानीय जनतालाई उपलब्ध हुने विश्वास दिलाए। उनले विगतमा दलका नेताहरूले जनताको सुविधा होइन, आफ्नो राजनीतिक लाभका लागि कार्य गर्दा विकासले गति लिन नसकेको बताए।