आपसी जातीय द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई परास्त गरेका छौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए । बिशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “नेपालका विभिन्न भाषा,संस्कृति,भेषभुषा रितिरिवाज, र संस्कारले विविधता बीच नै एकता,आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”
सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाईने गौरा पर्व भाद्र कृष्णपञ्चमीका दिनदेखि सुरु भएको छ ।गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाईने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी हुने जनविश्वास छ । त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले गौरा पर्व–२०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतीको शुभकामना व्यक्त गरेका छन् ।
‘सात नंं प्रदेश अर्थात साविकको सुदुरपश्चिमाञ्चल क्षेत्र प्राकृतिक रुपमा अत्यन्त सुन्दर छ । गौरा पर्व र गौरा पर्वको अवसरमा नाचिने देउडामा गाईने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाहरुले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्य जस्ता संस्कार संस्कृतिले सुदूरपश्चिम क्षेत्रलाई झनै सुन्दर बनाएको छ । गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम क्षेत्रको मात्रै होइन नेपाल राष्ट्रकै पहिचान हो,’ उपराष्ट्रपतिद्वारा शुभकामना सन्देशमा भनिएको छ ।
यस वर्षको गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाईंदै आएको चाड ‘गौरा पर्व’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
‘लामो संघर्षपछि यही पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको मैले अनुभूति गरेको छु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् ।’