आन्दोलनकारी डाक्टरहरुले मेडिकल काउन्सिललाई बुझायो ६ हजार लाइसेन्स
काठमाडौ : नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको संघका महासचिव डा. लोचन कार्कीले बताए ।
संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।
भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध -संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।