Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्मशालाको उद्घाटन पछि मोदीले भने-‘लुम्बिनीले गौतम दियो, भारतले बुद्ध’ (भिडियो सहित)

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं हिन्दू र बौद्ध धर्मको संगमस्थल भएको बताएका छन् । काठमाडौं हिन्दु र बौद्ध आस्थाको संगमस्थल भएको र यो धर्म मान्नेहरुबीच कस्तो मेलमिलाप छ भन्ने यहाँका गल्लीमा हिँड्ने जो कोहीलाई अनुभूति हुने बताए । यो परम्परा नेपाल र भारत सम्बन्धको एक महत्वपूर्ण कडी भएको भन्दै उनले भने, ‘लुम्बिनीले गौतम दियो, भारतले बोधगयाले बुद्ध दियो । गौतम बुद्धले देखाएको बाटो अतिवाद र आतंकवाद जस्तो समस्या हल गर्ने प्रेरणा स्रोत बनेको छ ।’

गोशालाको तिलगँङ्गा स्थित भारतीय सहयोगमा निर्मित  नेपाल–भारत मैत्री धर्मशालाको संयूक्त उद्घाटन पछि सम्बोधन गर्दै मोदीले भारतीय नागरिकको तर्फबाट सानो भेटी चढाउन पाउँदा खुसी लागेको बताए । चार वर्षअघि साउने सोमबार पशुपतिनाथको दर्शन गर्ने अवसर पाएको स्मरण गर्दै उनले अहिले फेरि आउँदा भक्ति भावले गदगद भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक स्थिरतापछि नेपाल विकास पथमा अघि बढेको भन्दै यसमा एक विश्वास मित्रका रुपमा भारतले सहयोग गर्ने बताए । बिमस्टेक चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको भन्दै उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई बधाइ दिए । उनले अघि भने, ‘मलाई विश्वास छ, ओलीजीको नेतृत्वमा काठमाडौंको धर्तीबाट लिइएको संकल्पले यो पूरा क्षेत्रमा सुख र शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

 

ओली र मोदीद्वारा संयूक्त रुपमा  उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उक्त धर्मशालाको उद्घाटन गरेका हुन् । धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए ।

‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’

कस्तो छ धर्मशाला ?

भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् । त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ । सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।


प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्