Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिम्स्टेकका सबै सदस्य मुलुकहरुको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक म्यान्मारमा गरिने

काठमाडौँ : बिम्स्टेक सदस्य मुलुकले राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासका लागि म्यान्मारमा बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक गरिने भएको छ । म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति विनले बिम्स्टेकमा कृषि क्षेत्रको नेतृत्वकर्ता मुलुक म्यान्मा रहेको बताउँदै आगामी वर्ष बिम्स्टेकको कृषिसम्बन्धी पहिलो मन्त्रिपरिषद् बैठक हुने जानकारी दिनुभयो ।  चार वर्षअघि म्यान्माको नेपिटमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको स्थायी सचिवालय ढाकामा स्थापना गर्नमा उल्लेख्य प्रगति गरिएको बताउँदै आफ्नो १२ मिनेटको मन्तव्यमा उहाँले शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बिम्स्टेकलाई हरसम्भव सहयोग गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

आर्थिक उन्नयनमा सघाउन थाइल्याण्ड तयार 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रमा आर्थिक विकासका लागि थाइल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।  बिम्स्टेक शिखर सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै उहाँले आर्थिक उन्नयनमा सघाउन थाई अनुभव र नीति यस क्षेत्रको विकास योजनामा सहयोगी हुने बताउनुभयो । उहाँले यस क्षेत्रको सामाजिक असमानता अन्त्यमा आफ्नो देशले हासिल गरेको प्रगति सबैलाई सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बिम्स्टेकका सहायताका १४ क्षेत्रलाई सङ्ख्यात्मकभन्दा गुणात्मकतामा जोड दिनुपर्ने बताउँदै उहाँले सदस्य राष्ट्रबीच सम्पर्क र सञ्जाल विस्तार, व्यापार तथा लगानी, जनस्तरको सम्पर्क अभिवृद्धि, सुरक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा बिम्स्टेक केन्द्रित हुनुपर्ने कुरा आफ्नो १३ मिनेटको मन्तव्यमा बताउनुभयो ।  सम्मेलन उद्घाटनका अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि आफ्नो मातृभाषामा १४ मिनेट मन्तव्य दिनुभएको थियो ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्