Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#4thBIMSTEC सम्मेलन : सदस्य राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टीमा ‘रिट्रिट’

बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा रिट्रिट दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।यसअघी जोरपाटी स्थित गोकर्ण रिर्सोटमा हुने भनिएको थियो।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास अर्थात बिमस्टेकमा सहभागी हुन आएका पहुनाहरुको बसाई पनि सोल्टीमै रहेको छ।

मुलतः सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गरिन्छ। सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ। ठूला सभा सम्मलेनहरुमा त्यसैका लागि रिट्रिट अबधारणा आएको हो।

चाबहिल-जोरपाटी-गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन आयोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो। ‘यस पटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्त्ता भरतराज पौड्यालले भने। परराष्ट्रका अधिकारीहरुले प्राविधिक कारणले आयोजना स्थलभन्दा बाहिर रिट्रिट हुन नसकेको जनाए।

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी छन् । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ ।

सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरूका श्रीमती/श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ ।

बिमस्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरिन् । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

रिट्रिटमा बिमस्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री/राज्यमन्त्री पनि सहभागी छन् । उनीहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला/विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।

नितान्त निजी एवं एकान्त भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो ।

रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताए ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्