बिमस्टेक शिखर सम्मेलन आजदेखिः यस्तो छ कार्यक्रम तालिका
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि वंगालको खाडीका देशहरुको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
दुई दिनसम्म चल्ने सम्मेलनको बिमस्टेकका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे होटल सोल्टीमा उद्घाटन गर्दैछन्।
उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले सम्मेलनलाई संवोधन गर्नेछन्। त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले संवोधन गर्ने कार्यक्रम छ।
आज साँझ प्रधानमन्त्री ओलीले सम्मेलनमा भाग लिन आएका विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई होटल हायातमा रात्रीभोजको आयोजना गरेका छन्।
बिमस्टेक सम्मेलनले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने कार्यक्रम छ।
सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ।
सम्मेलनको पूर्वसन्ध्यामा बुधबार भएको नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्यान्डका विदेशमन्त्रीस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेण्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रुप दिएको छ।
सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैथ्रिपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार काठमाडौं आइपुगेका छन्। म्यानम्यारका राष्ट्रपति यु विन मिन्ट मंगलबार नै काठमाडौं आएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका राष्ट्रपति जनरल प्रयुत चान ओ बिहिबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।
यस्तो छ सम्मेलनको कार्यतालिका:
परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट मन्तव्य दिनेछन्।
त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन्।
बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सकिने छ। बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन्।
शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन्। शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ।
प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन्। सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ। र, अन्तिममा बिमस्टेक काठमाडौं घोषणापत्र जारी हुनेछ