गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै
ललितपुर : गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ ।
गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उनले बताए ।
नगरपालिकाले रङ्गशाला निर्माणका लागि गत वर्ष रु ४० लाख र यस वर्ष रु एक करोड बजेट छु्याएको छ । छिट्टै अखिल नेपाल फूटबल सङ्घसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताए ।
“अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको छ”, उनी भन्छन्, “एक/दुई सातापछि नै फेरि शुरु हुनेछ ।” आगामी तीन वर्षभित्र रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । पहिले ढुङ्गाखानी सञ्चालन भएको स्थानमा अहिले रङ्गशाला निर्माण हुँदैछ ।