प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी गर्न आह्वान
काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो । भदौ ११ गतेदेखि २० गतेसम्म दश दिनको समयसीमाभित्र उजुरी दर्ता गरिसक्न समितिले आह्वान गरेको छ । मिश्रका सम्बन्धमा कुनै उजुरी भएमा सरोकारवाला तथा सर्वसाधरणले उजुरी दिन पाउनेछन् ।
संवैधानिक परिषद्को पत्राचार अनुसार समितिको आइतबारको बैठकले मिश्रको सुनुवाइका लागि सर्वसाधरण तथा सरोकारवालासँग उजुरी माग गरेको हो । समितिको इमेलमा पनि उजुरी पठाउन सकिनेछ । यस्तै, संघीय संसद् सचिवालयमा पनि उजुरी दर्ता हुनेछ । जिल्लाबाट उजुरी पठाउनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गर्न सकिनेछ ।
उजुरी आह्वानको समयसीमा सकिएपछि समितिले उजुरी परेको अवस्थामा उजुरकर्तासँग छलफल गर्नेछ । संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । यसअघि सिफारिसमा परेका दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि परिषदले पुनः मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।