Logo
३ माघ २०८१, बिहीबार
(August 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्मचारीको विषयमा सातै प्रदेशका सभामुख र उपसभामुखले गरे राष्ट्रपतिसंग गुनासो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी निकै कम भएको गुनासो राख्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा उहाँहरुले कर्मचारीको पटक-पटक हुने सरुवाले कामलाई सुव्यवस्थित गर्न कठिनाइ भएको तथा पुराना भौतिक संरचनामा कार्यालय सञ्चालन हुँदा भएको असुविधाबारे जानकारी दिनुभयो ।

जनप्रतिनिधिको मर्यादाक्रम, भौतिक संरचना र कर्मचारीको अभावबारे पनि उहाँहरुले गुनासो गर्नुभएको थियो । स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रमको विषय पनि टड्कारो रुपमा उठेकाले नयाँ परिवेशअनुसार मिलाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

नयाँ जनप्रतिनिधि र नयाँ कर्मचारी भएका कारण प्रदेशका गतिविधि चुस्त र व्यवस्थित ढङ्गबाट अघि बढाउने सन्दर्भमा तालमेल मिलाउन कठिनाइ भएको हुँदा अनुभवी कर्मचारीको व्यवस्थापन र विज्ञसँगको छलफल र परामर्शलाई आगामी दिनमा घनीभूत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता देखिएको विषय सभामुख र उपसभामुखले राष्ट्रपतिसमक्ष राख्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सभामुख र उपसभामुखले उठाउनुभएको विषयवस्तुबारे सरकारलाई जानकारी गराइने बताउँदै सङ्घीयताको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो । नयाँ प्रणाली र नयाँ संरचनाको अभ्यास भएकाले प्रत्येक प्रदेशलाई बलियो र समृद्ध तुल्याउनका लागि भेटघाट र अनुभव साटासाट गर्न राष्ट्रपति भण्डारीले सुझाव दिनुभएको प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले जानकारी दिनुभयो ।

विभिन्न कोणबाट सङ्घीयताप्रति उठाइएको भ्रम चिर्न एवं ऐनकानून निर्माणमा एकरुपता ल्याउन, प्रशासनिक र प्राविधिक पक्षलाई चुस्त तुल्याउन, दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गर्न तथा संसद् सेवालाई फराकिलो बनाउन टड्कारो आवश्यकता देखिएको विषय पनि भेटघाटका क्रममा उठेको थियो । भेटघाटमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Aug 20, 2018

प्रतिक्रिया दिनुहोस्