एक परिवारद्वारा विद्यालयलाई तीन लाख सहयोग
म्याग्दी : बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ ।
पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिनुभयो ।
मनप्रसाद, उहाँकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गर्नुभएको छ । सोही अवसरमा रु ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आइतबार सम्मान गरेको छ ।
विद्यालयमा खेलमैदान निर्माण
यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा खेलमैदान निर्माण भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा अमर माविको परिसरमा स्थानीयवासीले पक्की खेलमैदान निर्माण गरेका हुन् । १३ मिटर चौडाइ र २३.५ मिटर चौडाइ भएको ढलानसहितको पक्की खेलमैदान निर्माण भएको प्रधानाध्यापक पृथबहादुर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाको रु सात लाख ५९ हजार अनुदान र स्थानीयवासीको रु दुई लाख १३ हजार बराबरको श्रमदानमा खेलमैदान निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।