Logo
३ माघ २०८१, बिहीबार
(August 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड सहित प्रधानमन्त्री ओली जनकपुर जाँदै, उपेन्द्र यादव, मातृका, महासेठको पनि उपस्थिती

जनकपुरधाम : नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहित शनिवार पहिलोपटक एकसाथ धनुषा आउन लागेका छन् । नेकपा माओवादीका दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नु अघि आज विहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विहान साढे १० बजे जनकपुर विमान स्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुने छ । प्रदेशसभामा उहाँलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने हुँदा अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई म्यासेज पठाइएको सभामुख सरोज यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमन स्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ । प्रदेशसभामा सम्बोधन पश्चात ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन दाल,भात, तरुवा, तरकारी, करही बरी र माछा लगायत खाना खुवाएर पनि स्वागत गर्ने तयारी रहेको सभामुख यादवले बताउनुभयो ।

‘प्रधानमन्त्री प्रदेशसभामा आएर सम्बोधन गर्नु हाम्रो लागि सौभाग्यको कुरा हो । हामी उहाँको स्वागतमा कुनै कसर बाँकी राख्दैनौ’ सभामुख यादवले भन्नुभयो ‘ मलाई विश्वास छ, प्रधानमन्त्री ओली आफ्नो सम्बोधनको क्रममा प्रदेश २ को विकासका लागि केहि घोषणा गर्नुहुन्छ ।’ प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत संघीय सांसद एवं अतिथिहरु प्रदेशसभामा आउने क्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा सम्वोधन पश्चात ओली र प्रचण्ड लगायतसंघीय मन्त्रीहरु धनुषाको बरमझियामा आयोजित सहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ । ओली र प्रचण्ड पहिलो पटक यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।
निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध माओवादीको जनयुद्धको तयारीमा लागेका बेला वि.स. २०५१ साल भदौ २ गते सहिद रामवृक्ष यादवको हत्या भएको थियो ।

ओलीलाई जनकपुरमा विरोधको तयारी
प्रदेश २ सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा सचिवालयले भव्य स्वागत गर्ने तयारी गरेको छ । तर राजपाका स्थानीय नेता–कार्यकर्ता तथा केही युवा संघसंगठनहरु प्रधानमन्त्री ओलीको विरोध गर्ने आन्त्रिक तयारीमा छन् । पछिल्ला मधेस आन्दोलको क्रममा प्रधानमन्त्री ओलीले दिएका तिक्त अभिव्यक्तिका कारण उहँलाई विरोधगर्ने तयारीमा राजपाका केहि नेता कार्यकर्ता तथा स्थानीय संघसंगठनले विरोध गर्ने तयारी गरेको श्रोतले बताएको छ । विरोध गर्ने विषयमा भने राजपाले अधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर स्थानीय नेता कार्यकर्ताहरु सामाजिक सञ्जामा विरोध गरेको देखिन्छन् ।

प्रकाशित मिति: Aug 18, 2018

प्रतिक्रिया दिनुहोस्