वृद्धि भएको कर समायोजन गर्ने सहमति, दलका नेताहरुले अनसन तोडे
चितवन : बिभिन्न काम कार्यका लागि वृद्धि भएको कर विज्ञ टोली गठन गरी केही दिनभित्रै समायोजन गर्ने सहमति भएपछि चितवनको रत्ननगर नगरपालिकामा दलहरुले गरेको आन्दोलन फिर्ता भएको छ ।
नगरपालिकाको उपप्रमुख विमलादेवी दुवाडीको उपस्थितिमा भएको वार्तामा दल र नगरपालिकाबीच सहमति भएसँगै चार दिनदेखि जारी रिले अनसन दलहरुले तोडेका छन् ।
दुवै पक्षको सहभागिता रहने गरी कार्यदल गठन गर्ने र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभाव नपर्ने गरी कार्यदलको प्रतिवेदन अनुसार समय सापेक्षरुपमा कर समायोजन गर्ने सहमति भएको नगरपालिकाकी प्रवक्ता सरस्वती लामाले जानकारी दिइन् ।
कर वृद्धि लगायतका सबै ११ बिषयमा सहमति जुटेको लामाले बताइन् । सात दलका प्रतिनिधिहरु अत्यधिक कर वृद्धिको विरोध गर्दै गत आइतबारदेखि रिले अनसनमा बसेका थिए । उनीहरुले राजश्व शाखामा तालावन्दी नै गरेर तोडफोडसमेत गरेका थिए ।