धोविखोलामा आएको बाढीले अनामनगर र बिजुली बजार प्रभावित
काठमाडौँ : धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।
बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए । उनले जनतासँग बाढीले पु¥याएको क्षतिबारे जानकारी लिदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौँ महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराएका थिए । उनले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।