Logo
१५ मंसिर २०८१, शनिबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी र सप्तरीवासीलाई सतर्क रहन आग्रह : कोशीको बाढी खतरा संकेतनजिक

काठमाडौं : सुनसरी स्थित सप्तकोशी नदीमा बाढीको बहावले खतरा तह छुनै लागेकाले सुनसरी र सप्तरीका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ। मंगलबार राति भएको भीषण वर्षाले काठमाडौं उपत्यकामा पनि वाग्मती, विष्णुमती, धोवीखोला, रुद्रमती नदीमा ठूलो बाढी आएको छ। वाग्मतीको बाढीले तीनकुने क्षेत्रका ३३० घरटहरा डुबानमा पारेको छ।

कोशी नदी चतरामा बुधबार बिहान ६ बजे जल सतहले सतर्कता तह पार गरेको र खतरा तह पनि पार गर्ने संभावना रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ। यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ।

बुधबार बाग्लुङ, गुल्मी, स्याङजा, पाल्पा, तनहुँ, नवरपरासीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ। नारायणी नदीमा पनि पानीको सतहले सतर्कता तह पार गर्ने अनुमान गरिएको छ। सिन्धुपाल्चोकको जुरे आसपास एक सय मिलिमिटर भन्दा धेरै पानी परेको जनाउँदै बाढी पूर्वानुमान शाखाले त्यहाँका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच बुधबार पनि वर्षा जारी रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार बुधवार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ। यस्तै बुधवार राति पश्चिमी र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्