नेपाल बन्दको प्रभाव खासै परेन, देशभरको सुरक्षा व्यवस्था कडा
नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा मंगलबार बन्दको प्रभाव निकै न्यून रुपमा परेको छ । देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म गम्भीर खालको कुनै पनि घटना नभएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र बिहान ३ बजेदेखि नै ठूलो संख्या प्रहरी खटाइएको उनले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरे पनि त्यसको प्रभाव निकै न्यून परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
उनले भने, ‘बन्दको प्रभाव त्यति परेको छैन । सुरक्षा व्यवस्था कडा पारेका छौँ । अज्ञात समूहले केही ठाउँमा शंकास्पद बस्तु र बम राखेर तर्साउन खोजे पनि ती बस्तु सुरक्षित रुपमा निष्क्रिय पारिएको छ ।’ काठमाडौँ, ललितपुर तथा भक्तपुरका प्रहरी प्रमुखले सुरक्षा व्यवस्था कडा पारिएको तथा बन्दको प्रभाव निकै कम परेको बताएका छन् ।
नागरिकको सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको उनले बताएका छन् । काठमाडौँको नैकापसहितका केही ठाउँ, ललितपुरको ग्वार्को, थसिखेल र बटुकभैरव तथा भक्तपुरको लोकनथली र सूर्यविनायकमा भेटिएका प्रेसर कुकर बम तथा शंकास्पद बस्तु निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
२०७५ साउन २९ गते १२ : १७ मा प्रकाशित