कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा
ललितपुर : नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।
सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उनी भनिन, “तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।”
निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वर सम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भनिन, “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।
बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताउनुभयो । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ ।
कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’को काम सकिएको छ । कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उहाँले भन्नुभयो, “दुई÷चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।”
चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना गु्रपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप ग¥यो । उहाँले भन्नुभयो, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।”
निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपहरु समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनीयर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।”
मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो । सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उहाँले भन्नुभयो, “कुनै ठाउँमा जगको काम सकियो भने कतिमा शुरु हुन सकिरहेको छैन ।” सडकको लागत रु एक अर्ब रहेको छ ।