तोकिएको कार्यक्षेत्रमा तत्काल जान डाक्टरलाई स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् । उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नब्बे प्रतिशत भन्दा बढि चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत पनि गराएका छन् ।
उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पु¥याउन पनि वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने पनि स्पष्ट पारे । उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी पनि दिए ।
उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको पनि स्मरण गराए । शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री यादवले बताए ।
कार्यक्रममा मृर्गौला प्रत्यारोपणमा शिक्षण अस्पताल महाराजगंजले खेलेको भूमिकाको पनि चर्चा गरिएको थियो ।