पर्यटकीय क्षेत्र ठमेलका दुःख : पानी पर्दा हिलो, घाम लाग्दा धूलो
उपत्यकाभित्र सबैभन्दा बढी चहलपहल र तामझाम थेग्दै आइरहेको पर्यटकीय क्षेत्र ठमेल हिजोआज पुग्नुभएको छ? छ भने त यसको आलो दुःखको साक्षी स्वयं आफैं बनिहाल्नुहुन्छ । छैन भने झरीमा हिलो र घाममा घुलो झेलिरहेको ठमेल सम्झनुहोला । दर्जनौं, होटल, रेष्टुराँ, क्युरियो पसल, ट्राभल एण्ड टुर एजेन्सी, डिस्को र स्पा रहेको ठमेलका ओसिला गल्लिहरु जव पानी पर्छ हिलाम्मे हुन्छन् । बलेनी छल्दै पर्यटकहरुका पाइतालाले हिलो घिसारिरहेको दृष्य सामान्य लाग्छ ।
‘सडक छेउको बनौट नै यस्तो छ, पानीको निकास छैन’ मध्य ठमेलका रेष्टुराँ व्यवसायी विकासकुमार जोशीले सुनाए, ‘ठमेलका दुख देखेर पर्यटकहरु पनि आश्चर्य व्यक्त गर्छन्।’ ठमेलका प्रमुख चोक तथा गल्लीमा यत्रतत्र खाल्डा छन् । ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । समस्या समाधानका लागि स्थानीयवासीले पटक/पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन। ‘पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्या नहोस् भन्ने हो’ सरोकारावाला निकायलाई व्यवसायी जोशीको सुझाव छ , ‘सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिरहेको बेला ठमेलको यस्तो हालत सुधारियोस्।’
गतवर्ष मात्र ठमेलमा रोचक र व्यङ्ग्यपूर्ण दृष्य देखिएको थियो, स्थानीयले सडकमै धान रोपेको। सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण यात्रुहरुलाई केही सहज त भएको छ, तर झरीमा हिलो र घाममा धुलोबाट मुक्ति भने मिलेको छैन। क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा सबैलाई हैरानी भइरहेको छ।
स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि त पायो तर समस्याको सुनवाइ भएन। स्थानीयवासी यसैमा दिक्क छन्। ‘पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला?’ ठमेलका व्यवसायी किरणदेव घिमिरेले गुनासो गरे, ‘जनप्रतिनिधिले पनि हाम्रा कुरा सुनेनन्।’
समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउँछन्। ‘आर्थिक विकासमा ठूलो भूमिका खेलेको ठमलेलाई कसैले पनि राम्ररी हेरेन उनले भने ‘विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ। यो आफ्नै दुःखमा रुमल्लिएको छ।’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताउँछन् । ‘समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ’ उनले भने ।
ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । ठमेलका दुःखबारे सोधखोज गर्दै हामीले कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारीको ढोका ढकढक्यायौं। ‘पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ’ अध्यक्ष तिवारीले जानकारी दिए ‘अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ।’
त्यसैगरी, कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजालले क्षेत्रपाटीदेखि जेपी स्कुलसम्मको सडक मर्मतका लागि मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिइसकिएको बताए । भने, ठमेलका दुःख हरण गर्न नसक्दा हामीलाई पनि दुःख लागेको छ। अब छिटै समस्या समाधान हुन्छ। ढुक्क हुनुहोस्।’