‘इन्काउन्टर’मा मारिएकाहरुका परिवारले दर्ता गराए मानवअधिकार आयोगमा उजुरी
काठमाडौं, २३ साउन : अपहरणपछि बालकको हत्या गरेको अभियागेमा भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका भनिएका दुईजनाका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।
पेप्सीकोला काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङमाथि इन्काउन्टर गरिएको जनाएको थियो ।
बुधबार आयोगको हरिहरभवनस्थित कार्यालय पुगेका उनीहरुले घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् । दुवै परिवारको उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी डा. टीकाराम पोखरेलले जानकारी दिए ।
आयोगले उक्त घटनाको वास्तविकताबारे छानविन गर्ने आश्वासनसमेत पीडित परिवारलाई दिएको छ । मारिएका दुवै युवाका परिवारले उजुरी दिँदै घटनाको सत्यतथ्य छानबिन गर्न आयोगका अधिकारीसमक्ष माग गरेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भने भक्तपुरको सूर्यविनायक नजिकैको जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको बताउदै आएको छ ।