Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द

भक्तपुर : जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।

तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी तथा करार सेवामा काम गर्दैआएका कर्मचारीलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिल्ला समन्वय समितिले एम्बुलेन्स चलाउन नदिएको चालक कृष्णराम कोजुको आरोप छ ।

“साउन १ गतेदेखि एम्बुलेन्स चलाउन अनुमति दिएको छैन”, उनले भने, “दैनिक कार्यालय आएर हाजिर गरिरहेको छु ।,” सर्वसाधारणले दिनहुँ एमबुलेन्स सेवाका लागि फोन गर्ने गरेको पनि उनले बताएका छन। कोजुले १७ वर्षदेखि तथा अर्का चालक भीमनाथ गेलालले १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आएका थिए ।

जिससको आन्तरिक स्रोत नभएको र प्रदेश तथा संघीय सरकारबाट एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध नगराउँदा १७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको उक्त सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले जानकारी गराएका छन ।

“जिल्ला विकास समिति हुँदा आफ्नै आम्दानीको स्रोत थियो । अहिले आन्तरिक स्रोत छैन, एम्बुलेन्स सेवा दिन सकिदैन,” उनको भनाई रहेको छ। तत्काल अर्को व्यवस्था नभएसम्म एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएकाले जिससको एम्बुलेन्स अन्य निकायलाई जिम्मा दिने तयारी भइरहेको बताएका छन ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्