Logo
४ मंसिर २०८१, मंगलबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुलाई अनशनमा राखेर सम्पर्कविहीन भएका नुरप्रसाद प्रहरी नियन्त्रणमा

काठमाडौँ : गोरखा स्थित फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशनमा राखेर सम्पर्कविहीन भएका नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले पक्राउ गरेको नभइ उनी आफैँले खबर गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैँले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरी खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।  कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो । सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनशन उनले तोडेकी थिइन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो ।

त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो । २०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कारवाहीको दायरामा ल्याउने भनिएको थियो । रुद्र त्यही समयदेखि बेलायतमा रहेको बताइन्छ ।

 

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्