Logo
३ माघ २०८१, बिहीबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक : प्रधानमन्त्री र सभामुखलाई राजपाका सांसदले भने ‘हत्यारा’

काठमाडौँ : राजपाको सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना ‘हत्यारा’ भएको अभिव्यक्ति दिएपछि सांसदमा विवाद भएको छ । बिहीबारको संसद बैठक चलिरहँदा राजपा सांसद रेशम चौधरीलाई सपथ नगराएको विषयमा सांसद साहले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले भने,‘ मुलुकमा धेरै मान्छे मारेर प्रधानमन्त्री र सभामुख भएका छन् । अपार मत ल्याउदा ल्याउदै पनि रेशम चौधरीलाई किन सपथ गराइदैन। ‘ सांसद साहले बोलेपछि नेकपाका सांसदहरुले नियमापत्ति गरेका थिए। बैठकमा सभामुख कृष्णबहादुर महरा बाहिरिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले चलाइरहँदा विशेष समय बोल्दै सांसद साहले उक्त अभिव्यक्ति दिएका थिए।

उपसभामुखक तुम्बाहाम्फेले सांसद साहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन्। त्यसको विरोध गर्दै सांसद साहले आफूले के गल्ती गरेकाले उक्त अभिव्यक्ति हटाउन लगाइएको भन्दै प्रतिप्रश्न गरेका थिए।

यसैबीच, प्रमुख प्रतिपक्षीको बहिष्कार बीच बिहीबारकाे स‌ंसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका सांसद बाहिरिएका थिए ।कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासमक्ष बारम्बार माग गरेका थिए। तर, सभामुख महराले आज विशेष समय र शून्य समयमा उठेका सवालका उत्तर मात्रै मन्त्रीले दिने भन्दै बैठक अगाडि बढाएका थिए।

‘नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था छ‌ैन। कांग्रेस सांसदलाई बस्न आग्रह गर्दछु,’ धेरैपटक प्रमुख प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘अर्को बैठकमा बोल्ने समय दिन्छु आजको बैठक अघि बढ्छ।’ कांग्रेस सांसदले उभिएर विरोध गरिरहेका बेला सभामुखले संसद्को‌ विषयगत समितिका सदस्यहरुको नाम प्रस्तावको लागि वाचन गरिरहे। यतिबेलासम्म पनि कांग्रेसका सांसदले उभिएर विरोध गरिरहे।

सभामुख महराले नाम पढेर सकाए र समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरे। त्यतिखेर भने उभिएर मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरिरहेका कांग्रेस सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए। त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवडालाई बिमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए।

कांग्रेस बैठकबाट बाहिरए पनि बैठकमा रहेका सत्तापक्ष र प्रतिपक्षी राजपा र अन्य स्वतन्त्र सांसदले बिमा विधेयकको लागि सैद्धान्तिक छलफल गर्न अनुमति दिए। अर्थमन्त्री खतिवडाले बिमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरे। तर, छलफलमा कुनै सांसदले भाग लिएनन्।सभामुख महराले बैठक भोलि १ बजे बस्ने गरी बैठक सकिएको घोषणा गरे।

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्