हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ : गृहमन्त्री थापा
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराए । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
उक्त घटनाका सम्बन्धमा गृहमन्त्री थापाले प्रहरीले आवश्यक खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै उनले यस्ता हत्या हिंसाका घटनामा मदिरा सेवन र लागुपदार्थको सेवन कारण बन्ने गरेको बताए ।
गृहमन्त्री थापाले अनियन्त्रित मदिरा सेवन र लागुपदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी गराए । उनले सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको र गम्भीर छानबिन भइरहेको जानकारी गराए ।