Logo
२ माघ २०८१, बुधबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोविन्द केसीमाथि ‘हत्यारा’ को गम्भीर अभियोग

काठमाडौं, १३ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले डाक्टर गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् । आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् । उनले भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’

डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा डा. दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै भनिन्, ‘यो त एउटा उदारहण मात्र हो । यस्ता घटनाको जिम्मेवारी कसले लिन्छ ? नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् ?’

यता, राष्ट्रिय चिकित्सा शिक्षामा एमबिबिएसको मात्रै कुरा गरी अन्य विषयलाई छाडेर गलत प्रचलन अगाडि बढाउन खोजिएकामा सांसदले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै सांसदले औषधि विज्ञानका धेरै पाटा र पक्षलाई छाडेर एउटा विषय मात्रै प्राथमिकतामा राखिएकामा गुनासो गरे ।

सांसद खगराज अधिकारीले औषधि विज्ञान र चिकित्सा विषयमा अंशलाई उचालेर समग्र पक्षलाई छाड्न नहुने, औषधालय, आयुर्वेद र वैकल्पिक चिकित्सालाई समेत ध्यान दिइनुपर्ने बताए । सांसद सुजिता शाक्यले स्वास्थ्य र शिक्षाका विषय सरकारको दायित्वभित्रै पर्ने भए पनि विगतमा गरिएको निजीकरण र व्यापारीकरणका कारण चिकित्सा क्षेत्रमा समस्या र विकृति फैलिएको उल्लेख गरे ।

विसं २०४६ पछि तत्कालीन नेपाली काँग्रेसको सरकारले निजीकरणलाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य र शिक्षामा समेत निजीकरण भएको र त्यसले समस्या खडा गरेको छ भन्दै सम्भव भएसम्म राष्ट्रियकरणको विषयलाई समेत प्राथमकितामा राख्न आग्रह गरे । सांसद भरतकुमार शाहले स्वास्थ्य र शिक्षा राज्यकै दायित्वमा रहने विषय रहेको बताउँदै स्वास्थ्य र शिक्षामा व्यापारिक गतिविधि गर्न नहुने उल्लेख गरे ।

सांसद सरिता गिरीले प्राडा गोविन्द केसीको माग सम्बोधन गर्ने नाममा नै विधेयक ल्याइएको हो भने त्यसले पार्ने प्रभावका बारेमा समेत छलफल गरिनुपर्नेमा जोड दिइन् । सांसद दिलेन्द्रप्रसाद बडूले प्राडा केसीसँग भएको सहमतिको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सांसद प्रेम सुवालले स्वास्थ्य र शिक्षा राज्यको दायित्वमा रहेको र संसारको धेरै देशमा समेत सोही व्यवस्था रहेको छ भन्दै नेपालमा भने निजी क्षेत्रलाई नै दिइनुपर्ने कारण के हो भनी प्रश्न गरे । उनले भने, ‘कुन क्षेत्र निजीलाई दिने, कुन क्षेत्र नदिने भन्नेमा प्रष्टताको जरुरी छ भन्दै उहाँले धेरै पहिले प्रस्तुत भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक कहाँ गयो ?’

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्