Logo
२ माघ २०८१, बुधबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’

उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले लासको राजनीति गर्न खोजेको भनेर कांग्रेसलाई लागेको आरोपको खण्डनसमेत गरिन् । रेग्मीअघि बोलेकी नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको बताएकी थिइन् ।

त्यसैको प्रतिउत्तरमा रेग्मीले भनिन्, ‘बलात्कारको विरोधमा उत्रिएका जनतामाथि लाठी बर्साएको छ । धरपकड गरेको छ । यहाँ चाहिँ लासमाथि राजनीति नगर भन्ने रु लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन ।’

आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् । टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।

यसैगरी नेकपाकी निरुदेवी पालले पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गरिन् । उनले पन्तको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न सचेत गराइन् ।

सांसद संगिता गिरीले पन्तको हत्याबारे गृहमन्त्रीसँग जवाफ मागिन् । केहि व्यक्ति पक्राउ गरिएको भएपनि सार्वजनिक नगरिएकोमा उनको असन्तुष्टी छ । ‘बालिकाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउने काम भएको छ । यसबारे गृहमन्त्रीसँग माग गर्दछु,’ उनले भनिन् ।

 

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्