असफल मन्त्रीको सुचिमा लालबाबु र रघुवीर, को-को भए सफल ?
काठमाण्डौ, १३ साउन : झण्डै दुई तिहाई बहुमतसहितको सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । त्यसैले सरकारका काम कारबाहीलाई अहिले सबैले नजिकबाट नियालिरहेका छन् । आजको दिनसम्म आइपुग्दासम्म यो सरकारले आलोचना बढी सहनुपरेको छ । त्यसैले अबका दिनमा कसरी प्रशांसा बटुल्ने वा जनपक्षीय काम गर्ने भन्ने विषयमा स्वयम प्रधानमन्त्री केपी ओली चिन्तित बन्दै आफू नेतृत्वको सरकारले के कस्ता काम गर्यो ? अब कस्तो गर्ला ? मन्त्रीहरु जनताप्रति कति उत्तरदायी बन्लान् ? कुन मन्त्रीले कस्तो काम गरे ? भनी ओलीले आफ्नो मन्त्रीमण्डलका सदस्यहरुप्रति निगरानी बढाएका छन् ।
५ वर्षभित्रमा देशको अवस्थामा धेरै सुधार गर्नुपर्ने चुनौति बोकेका प्रधानमन्त्रीले ओलीको निर्देशनमा उनको सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ । मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको छ । रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् ।
पहिलो पटक मन्त्री बन्दा अत्यन्त प्रशंसा बटुल्न सफल मण्डित यस पटक भने निकै कमजोर देखिएका छन् । महासेठलाई त कतिपयले घुसखोर मन्त्री नै भन्ने गर्छन् । यसैगरी एल्लो जोन अर्थात निगरानीको सूचीमा ९ जना मन्त्री छन् । यसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा छन् ।
यि नौ जनामध्ये सबैभन्दा बढी आशा गरिएका मन्त्री हुन्, रवीन्द्र अधिकारी । तर उनी पनि आजको दिनसम्म सफल भन्न लायक बनेनन् । अरु मन्त्रीबाट त धेरै आशा नै गरिएको थिएन । ग्रिन जोन अर्थात सन्तोषजनकको सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पोखरेलको मन्त्रालय नै कम विवादित र जनतसँग प्रत्यक्ष नजोडिने भएकाले उनी ग्रिन जोनमा पर्नु स्वभाविक नै हो । थापाले भने राम्रो काम गर्ने संकेत सुरुदेखि नै दिएका हुन् । तर उनलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले नै सहयोग गरेका छैनन् भन्ने हल्ला चलेकै हो । प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरिसकेकाले पनि हुन सक्छ परराष्ट्रमन्त्री ज्ञवाली सफल ठहरिएका छन् । अहिलेसम्म शान्त स्वभावका उर्जामन्त्री पुनलाई सफल देख्नु पनि अस्वभाविक मान्न सकिदैन । धेरै आशा गरिएको श्रम मन्त्री विष्टले पनि सुधारका प्रयास धेरै गरेका छन् ।
अर्थमन्त्री खतिवडाले ल्याएको बजेट आलोचित भए पनि देशको ढुकुटी बढाउनका लागि कर र करको दायरा बढाएकाले प्रधानमन्त्री ओलीको सचिवालयले उनलाई सफल मन्त्रीको सुचिमा राखेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मन्त्री भएको थोरै समय भएकाले मूल्यांकन गरिएको छैन ।