प्रस्तावित कामु प्रधानन्यायाधीश जोशी माथि सुनुवाईको निर्णय लम्बियो
काठमाडौं, १३ साउन : संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी माथिको सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि निर्णय सुनाउन सकेको छैन । आईतबार बिहान साढे ८ बजे बोलाईएको बैठक पनि सोमबार अपरान्ह २ बजे सम्मका लागि स्थगित गरिएको छ ।
जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ । यसअघि शुक्रबार बोलाईएको बैठक बस्दै नबसी आईतबार बिहान साढे ८ बजेका लागि बोलाईएको थियो ।
सुनुवाई सकेर निर्णय प्रक्रियामा रहेको समितिले निर्णय सुनाउनकै लागि बोलाईएको बैठक दुई पटकसम्म स्थगित गरेपछि शंका उब्जिएको छ । विशेष गरेर कामु प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रको बारेमा संचारमाध्यममा समाचार आईरहनु र समितिले पनि बैठक सार्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
संसदीय सुनुवाई समितिको बैठक आज बिहान साढे ८ बजे बोलाईएको थियो । प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाईएको छ । तर समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भने प्रतिनिधिसभा लगायतका बैठक परेकाले बैठक स्थगित गरिएको बताए ।