शिक्षालाई अगाडि बढाउने विषयमा सरकारसँग नयाँ योजना छ : प्रधानमन्त्री
काठमाडौं, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘चाहिएको छ कृषि विज्ञ, प्रमाण पत्र छ अरु नै बिषयको । यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ ।’ नेपाललाई गरिब बनाएर खान, लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको प्रधानमन्त्री ओलीले बताए ।
‘तर अब त्यो अवस्था बाँकी रहेन’ उनले भने ‘अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।’