Logo
१ मंसिर २०८१, शनिबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सारकारका लागि छुट्याइएको २१ करोड ८६ लाख बजेट फ्रिज

जनकपुरधाम, ७ साउन  : प्रदेश नं. २ सरकारको ३३ प्रतिशत बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७४।०७५ को कुल एक अर्ब दुई करोड २५ लाख बजेटमध्ये ९७ करोड ८८ लाख ४७ हजार दुई सय रुपैयाँ खर्च भएको छ । जसमध्ये २१ करोड ८६ लाख ५२ हजार ८ सय रुपैयाँ फ्रिज भएको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार चालूतर्फ ४५ करोड ३६ लाख २३ हजार ३ सय अर्थात् ६३ दशमलव आठ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ४४ करोड ३६ लाख ५२ हजार ७ सय अर्थात् ६१ दशमलव ९५ प्रतिशत खर्च भएको छ ।

प्रदेश २ मा बजेट खर्च गर्ने प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, मन्त्रालयहरू, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय गरी १० वटा युनिट छन् । त्यसमध्ये प्रदेश लेखा नियन्त्रक कार्यालय मात्रै आफ्नो सम्पूर्ण बजेट खर्च गरेको छ । बाँकी सबै युनिटले पूर्ण बजेट खर्च गर्न सकेका छैनन् ।

प्रदेश सभा सचिवालयको १९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयको ४० प्रतिशत, मुख्यमन्त्री कार्यालयको १५ दशमलव २४ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालय २२ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालय ८४ प्रतिशत रकम खर्च भएन ।

त्यसैगरी, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको ६४ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५१ प्रतिशत, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको २४ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ४३ प्रतिशत रकम खर्च भएन । मन्त्रालयहरूमा सबभन्दा बढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खर्च गर्न सफल भएको छ । सबभन्दा कम खर्च आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको छ ।

तर प्रदेश नं. २ लेखा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख डा.विरेन्द्र कुमार मिश्रले आर्थिक वर्ष २०७४।०७५ को अन्तिम चौमासिकमा प्रदेश सरकार गठन भएकाले कुल बजेटको ६७ प्रतिशत रकम खर्च हुनु उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्