माइतीघरमा विरोध प्रदर्शन गर्दै नयाँ शक्तिले माग्यो ओलीको राजीनामा
काठमाडौं, १ साउन : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सरकारविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ ।
सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नेता गंगा श्रेष्ठले बताए ।
प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुनेगरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।
नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ ।
नेता श्रेष्ठले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिए ।