कांग्रेससंगको एकता भंग गरी फेरि छुट्टै पार्टी बनाउने गच्छदारको चेतावनी
काठमाडौं २६ असार : आन्तरीक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकता भंग गर्ने धम्की दिएका छन् ।
तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गरेका गच्छदारले चुनाव अघि आफ्नो पार्टीलाई काँग्रेसमा समाहित गराएका थिए । उनले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै यस्तै रहे एकता भंग हुने भन्दै पार्टी बैठकमै धम्की दिएका हुन् ।
‘गच्छदारलाई अरु नेता जस्तो नठानुन्नस छुटै पार्टी चलाउने हैसियत पनि छ मलाई’ बैठकमा सभापति देउवा तर्फ अकिंत हुँदै उनले भने- ‘तपाईको हैकमवादी शैलीले नेपाली कांग्रेस अझ कमजोर हुनेछ ।’
यता, सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ ।
सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ ।
जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी हुन सकेको छैन । काँग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध संसद र सडक दुवै ठाउमा कडा रुपमा प्रस्तुत हुने घोषणा गरेको थियो ।
प्रतिपक्षको भुमिका कमजोर भएको गुनासो आइरहेको बेला काँग्रेसको शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेका थिए । तर, आन्तरिक रुपमा छिन्नभिन्न भएको नेपाली काँग्रेस एकढिक्का हुन सकेको छैन । गुट उपगुटमा विभाजित काँग्रेसमा नेताहरु एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन ।