Logo
२ माघ २०८१, बुधबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री बादल

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उन ले अपराध नियन्त्रण गर्न सके विकास र समृद्धिको लक्ष्य पूरा हुने बताएका हुन् ।

उनले भने, “न्याय प्रशासनलाई विश्वासिलो बनाउन वस्तुगत प्रमाणमा आधारित अनुसन्धान आवश्यक छ ।” निर्दोषलाई उन्मुक्ति दिन नसकेसम्म जनता र राष्ट्रको विश्वास जित्न नसकिने भन्दै गृहमन्त्री थापाले वस्तुगत प्रमाण जुटाएर अनुसन्धान गर्न प्रहरी तथा सरकारी वकिलको ध्यानाकर्षण गराए । राष्ट्रको अखण्डता र स्वतन्त्रताको रक्षा गरी जनताको अधिकार रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सुरक्षा नीति न्यायप्रणालीसँग जोडिएको विषय भएको र यसलाई समायनुकूल बनाउन सरकार लागेको स्पष्ट पार्दै गृहमन्त्री थापाले भने, “सुरक्षा नीतिमा गम्भीर त्रुटी छन्, त्यसलाई सच्याएर सरकार अगाडि बढ्न चाहन्छ। ”पूर्व प्रधान न्यायधीश कल्याण श्रेष्ठले कानूनी राज्य शिथिल भएमा अहिलेसम्मका राजनीतिक उपलब्धि गुम्ने भन्दै विकासलाई संस्थागत गर्न सरकार दह्रो भएर अगाडि बढ्नुपर्ने बताए ।

“संविधानअनुसार बनेका देवानी र फौजदारी कानून महत्वपूर्ण छ, यसको कार्यान्वयनका लागि सबै लाग्नुपर्छ,”–उनले भने । मुलुकमा अझै २८ हजार मुद्दा फछ्यौट गर्न बाँकी रहेको भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए, “न्याय दिने कुरामा राज्यले अलमल गर्न नहुने र यसका लागि आवश्यक स्रोत र साधन राज्यले दिनुपर्छ, कार्यान्वयन गर्ने एकाइले पनि आफ्नो काम समयमै पूरा गर्नुपर्छ,” ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकास र सुरक्षालाई प्रहरीले सँगसँगै लैजान खोजेको भन्दै सुरक्षाका लागि चाहिने आवश्यक स्रोत र साधनप्रति सरकार गम्भीर हुनुपर्ने बताए । बयानमुखी हैन, प्रमाणमुखी अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्