Logo
२ मंसिर २०८१, आईतबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल वायुसेवा निगमले पहिलोपटक भित्र्यायो वाइडबडी विमान

काठमाडौं, १४ असार : नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानकाे लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

यो विमान लिन नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।

तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइपुर्‍याइदिएका हुन् । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।

फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् । ती न्यारोबडी हुन् । वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्द्रित गरेपछि ए ३२० लाई भारतको बैंगलोर, दिल्ली, थाइल्यान्डको बैंकक लगायतका शहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ । वाइडबडी उडाउने जिम्मेवारी नेपाल एयरलाइन्समा कार्यरत बरिष्ठ पाइलटहरुलाई दिने कंशाकारले बताए ।

नेपाल एयरलाइन्स गत वर्ष सन् २०१७ मा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ ।  निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ । नयाँ विमान आएपछि फेरि निगमले आफ्नो बिजनेश बढाउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्