छोराको विहे सकिनासाथ होटलबाटै सुन व्यवसायी राजु दारुका पक्राउ
काठमाडौं, १२ असार : तस्करीको सुन र सनम हत्या प्रकरणमा वीरगञ्जका राजु दारुका पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले दारुकालाई पक्राउ गरेको हो ।
सोमबार अन्नपुर्ण होटलमा छोराको विवाहमा सहभागी दारुकालाई विवाहको प्रक्रिया समाप्त भएपछि नियन्त्रणमा लिइएको बताईएको छ ।
सुन तस्करी तथा सनम हत्याबारे छानविन गर्न गठित समितिले उनलाई नियन्त्रणमा लिएको हो । वीरगञ्ज स्थायी घर भएका राजु यसअघि पनि पटक–पटक सानो परिमाणको सुनसहित पक्राउ परेर छुट्दै आएका थिए ।
पेशा–व्यवसाय नखुलेका दारुका लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको छानविन समितिका एक सदस्यले बताएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि दारूका पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।
स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो सुन कारोबारीका रूपमा चिनिन्छन् ।