Logo
२ माघ २०८१, बुधबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी र सभामुखबीच हाँसो ठट्टा : गृहमन्त्री पुगेपछि अवरुद्ध रहेको संसद बैठक सुरु

काठमाडौ, ११ असार : गृहमन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफल स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयगत बजेटको छलफलमा गृहमन्त्री उपस्थित नभएकोप्रति आपत्ति जनाएपछि बैठक १० मिनेट स्थगित भएको हो ।

बैठकमा आइतबारदेखि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमाथि छलफल जारी छ । यिनै मन्त्रालयमाथि सांसदहरुले धारणा राख्नेक्रम सोमबार पनि जारी छ । तर गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा बैठकमा नदेखिएपछि कांग्रेसले आपत्ति जनायो ।

कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले विभिन्न मन्त्रालयमा विनियोजित बजेटको दफाबार छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित रहेको भन्दै नियमापत्ति गरे । संसदमा मन्त्रालयगत छलफलका लागि सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने नियमावलीमा व्यवस्था छ ।

सोही विषयलाई लिएर संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेट स्थगित गरे । सभामुख कृष्णबहादुर महराले केही समयमा नै बैठकमा आइपुग्ने भनेर गृहमन्त्रीले खबर पठाएको बताए । तर कांग्रेस सांसदहरुले उठेर विरोध जनाइरहे ।

नियमापत्ति गर्ने सांसद तिमल्सिनाले बोल्न खोजिरहे तर सभामुखले समय दिएनन् । कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले सभामुखबाट समय उपलव्ध नभएपनि सभामुखसँग सवालजवाफ गरिरहे । प्रतिनिधिसभाको बैठक स्थगित भएको १० मिनेट नबित्दै गृहमन्त्री बादल साईरन बजाउदै संसद भवन आइपुगे । नभन्दै १० मिनेटभित्रै प्रतिनिधिसभाको छलफल पुनः प्रारम्भ भयो । अहिले सत्तापक्ष तथा प्रतिपक्षी सांसदले उर्जा, परराष्ट्र र गृह मन्त्रालयमा विनियोजित बजेटमाथि आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख महरा र कांग्रेस सांसद रिजालबीच यस्तो भयो कुराकानी : 
रिजाल : सभामुख महोदय, मन्त्री नै नभएपछि छलफल कसरी अगाडी बढ्छ ? यो संसदमाथी अपमान भयो ।
सभामुख : माननीय ज्यू, मन्त्री मन्त्रालयबाट हिडिसकेको खबर छ । बस्नुस् माननीय सदस्यहरु बस्नुस् ।
रिजाल : सभामुख महोदय मन्त्रालयबाट हिडेपनि ट्राफिक जाम हुनसक्छ । मन्त्री आउन समय लाग्ला । यता छलफल अघि बढिरहनु उपयुक्त होइन ।
सभामुख : (हाँस्दै) गृहमन्त्रीलाई ट्राफिक जाम हुदैन माननीय ज्यू, बस्नुस् । गृह मन्त्रालयमाथिको छलफल पछि गरौँला । अहिले उर्जा र परराष्ट्र मन्त्रालयमाथिको छलफल जारी राखौँ ।
रिजाल : मन्त्रीको उपस्थिति नभई छलफल अघि बढाउनुको औचित्य छैन सभामुख महोदय । हामी मान्दै मान्दैनौँ ।
सभामुख : माननीय सदस्यहरु, केही माननीय सदस्यहरु उठेर विरोध जनाएकाले यो बैठक १० मिनेट स्थगित हुन्छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्