नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सौराहामा आराम गदैँ
चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबार देखि सौराहा स्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।
जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहहेको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेका बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् । शनिबार काठमाडौँ फर्किने भनिए पनि उनी फर्किएका छैनन् ।