Logo
३ माघ २०८१, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुट भन्दा सिंगो पार्टीको नेता हुन सभापति देउवालाई नेता पौडेलको आग्रह

काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताएका छन् ।

शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उनको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।”

अर्को प्रसङ्गमा उनले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिए । वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताए ।

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरालाई रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताए । “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ,”, उनले भने ।

समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । विसं २००१ मा मोरङमा जन्मनुभएकी आचार्य २०४८÷२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । विस २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उनको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्