प्रदेश ४ को नीति : १ लाख स्वरोजगार, वार्षिक ५० हजारलाई रोजगारी
पोखरा, २५ जेठ : प्रदेश ४ सरकारले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्र सरकारले पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर अर्थात २ हजार डलर पुर्याउने लक्ष्य राखेको छ । तर प्रदेश ४ को सरकारले केन्द्र सरकारले भन्दा बढी प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य राखेको हो । हाल नेपालको प्रतिव्यक्ति आय करिब १ हजार डलर रहेको छ ।
शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ५ वर्षमा आर्थिक वृद्धिदर वार्षिक ८ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ । पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने, अन्तर्राष्ट्रिय बहुउपयोगी सम्मेलन केन्द्र बनाउने, स्थानीय तहमा २५ र नगरपालिकामा ५० शैयाको अस्पताल बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सबै स्थानीय तहको केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विस्तार गर्ने, दुई बर्षभित्र हरेक घरधुरीमा खानेपानी तथा विद्युत सुविधा पुर्याउने, वार्षिक पचास हजारलाई रोजगारी र एकलाखलाई स्वरोजगार बनाउने पनि प्रदेश ४ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै पोखराको क्षेत्रीय विमानस्थललाई तीन बर्षभित्र सम्पन्न गर्ने, सन् २०२२ सम्ममा बीस लाख पर्यटक भित्र्याउने, फेवा, बेगनास र रुपाताललाई जोड्न मोनोरेलको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा राखिएको छ ।तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रीलाई अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङ केन्द्रको रुपमा विकास गर्ने पाँच बर्षमा बीस लाख पर्यटक पुर्याउने लक्ष्य राखिएको छ ।
प्रदेश निर्वाचन क्षेत्रका कम्तीमा एउटा सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वृहत पोखरा चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सरकारबाट स्वीकृति लिएर मात्र कार्यक्रम गर्न दिने नीति तथा कार्यक्रममा जनाइएको छ ।