छोरा नपाएका कारण धेरै सन्तान जन्माउन बाध्य
बनियानी : झापाको कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी महिला छिन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिएकी ।
सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उनी उमेर नहुँदै आमा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म दिएकी उनले पाँचौँ सन्तान पनि जन्मानु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुन् ।
सीता त उदाहरण मात्रै हो । उनको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताइन् । ‘यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ’, उनले भने, ‘त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।’
छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताएका छन् ।