मुग्लिन-नारायणगढ सडकखण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न, अब रोकिनु पर्दैन
चितवन : निर्माणाधीन मुग्लिन-नारायणगढ सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्ने काम सकिएको छ । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको हो । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।
आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालका अनुसार मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएर सकिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन । गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।
खनालका अनुसार दोस्रो चरणको कालोपत्रे गर्ने काम पनि अबको चार पाँच दिनमा सकिनेछ । एस्फाल्ट कंक्रिट बाहेक निर्माणाधीन बाटोमा कालोपत्रेको मोटाई १२ सेन्टिमिटरको हुने उनले जानकारी दिएका छन् । दोस्रो चरणको कालोपत्रे सकिएपछि यो भन्दा गुणस्तरको एस्फाल्ट कंक्रिटको काम हुने उनले जानकारी दिए । एल्फाल्ट कंक्रिट चार सेन्टिमिटरको हुनेछ ।
यसरी समग्रमा मुग्लिन–नारायणगढ सडक खण्डको सडकमा कालोपत्रेको मोटाइ १६ सेन्टिमिटरको हुनेछ । पहिलो चरणको कालोपत्रे सकिएसँगै बुधबारदेखि यो सडकखण्डमा गाडी नियमित चल्न थालेका छन् । निर्माणको क्रममा दैनिक ६ घण्टा बन्द गरिने गरेको बाटो बुधबारदेखि भने दिनभर नै खुल्ला हुने खनालले बताए । यसअघि हरेक दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बाटो बन्द गरेर काम हुँदै आएको थियो । बाटो बनाइसक्नका लागि पछिल्लो पटक थपिएको समय जेठ १६ गतेसम्म थियो । तर काम पूरा भएको छैन । समय थप गर्नका लागि निवेदन दिइएको आयोजनाले जनाएको छ ।
तस्बिरहरु सौजन्य : मुग्लिन-नारायणगड सडक ओजनाको फेसबुक पेजबाट