Logo
२ मंसिर २०८१, आईतबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित रहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताएका छन् ।

केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आईतबार अपराह्न भएको भेटघाटमा उनले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गरेका छन् । उनले भने ‘अब उपरान्त आन्तरिक राजनीतिक मामिला द्विपक्षीय छलफलको विषय बन्दैन ।’ उनले प्रकृति र संस्कृति नेपालको पर्यटनका मूल क्षेत्र भए पनि नेपालको मौलिक शान्ति प्रक्रियालाई पनि प्रचार गर्नुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्रीले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने बताए ।

भारतसँगको सम्बन्ध विगतमा उतारचढाव भए पनि सन्तुलनमा ल्याउने प्रयास भइसकेको र भारतले पनि आफ्नातर्फबाट महसूस गरेको बताउँदै उनले भारतसँग भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न नेपालको राष्ट्रिय दिवस अर्थात् संविधान दिवस९असोज ३ गतेको समय तोकिएकामा त्यसमा प्रगति देखिएको जानकारी दिएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली जुन महीनाको दोस्रो सप्ताहतिर छिमेकी देश चीन जाने जानकारी दिँदै सो अवसरमा क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा बेल्ट एण्ड रोड परियोजना अन्तर्गतका केही आयोजनाबारे ठोस काम हुने बताए । उनले सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट गरेका छन् ।

बिम्स्टेकको सम्मेलन यसै वर्षभित्र गर्ने योजना रहेको तथा नेपाल साङ्घाइ सहयोग सङ्गठनको संवाद साझेदारबाट पर्यवेक्षक बन्ने प्रक्रियामा रहेको जानकारी पनि उनले दिएका छन् । विश्व प्रणालीमा परिवर्तन हुनुपर्ने तथा संयुक्त राष्ट्र सङ्घमा साना राष्ट्रको पनि समयोचित प्रतिनिधित्व हुने गरी सुधार हुनुपर्नेमा उनले जोड दिए । उनले नेपालका विकास साझेदारहरुलाई नेपालमा सहयोग अनियन्त्रित ढङ्गले नछरी लगानी र सहयोग बढाउन आग्रह गरिएको जानकारी पनि दिए । परराष्ट्रमन्त्रीले नेपालले धेरै देशसँग श्रम सम्झौता गर्न चाहेको र सम्झौता भएका मुलुकमा नेपाली श्रमिकको हकहित र कमाएको पैसा सजिलै नेपाल पठाउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए ।

उनले कूटनीतिक आचारसंहिता र राजदूत नियुक्तिको मापदण्ड तयार गर्ने काम र नेपालका राजदूतावास तथा नियोगहरुको स्थितिबारे समीक्षा भइरहेको एवं नेपाली राजदूतहरुको कार्यसम्पादन पनि मूल्याङ्कन भइरहेको बताए ।पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्रीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको कामप्रति सन्तोष व्यक्त गर्दै यही हिसाबले काम अघि बढेमा नेपाल भारत सम्बन्धमा युगान्तकारी घटना हुने विश्वास व्यक्त गरेका छन् । एक प्रश्नको जवाफमा उनले भने,’विगतमा सत्ता टिकाउन वा प्राप्त गर्न भएका जमानीको स्वामित्व लिँदैनौँ, दलगत स्वार्थमाक भएका कुराको जवाफ देही हुँदैनौँ ।’

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्