पढाउन नजान्ने शिक्षक राखेर हुँदैन, अस्थायी समस्या समाधान हुन्छ : प्रधानमन्त्री
काठमाडौं, १६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकाप्रति जनताको आशालाई तलमाथि पर्न नदिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताए ।
‘जनताको लागि यो सरकार अन्तिम भरोसा हो । जनताको यो आशालाई तलमाथि पर्न दिइदैन’ प्रधानमन्त्री ओलीले भने ‘हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।’
‘असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं’ प्रधानमन्त्री ओलीले भने ‘ति बच्चाहरु फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।’ बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको समेत बताए । शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरे ।
अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ । ‘पढाउन नजान्ने शिक्षक राखेर हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘सबै शिक्षकहरुले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहोस् । बिषयवस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?’
प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।